लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा


सुर्खेत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले आज प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गरेका हुन् ।

योसँगै लुम्बिनी प्रदेशमा रहेका चार राजनीतिक दलले नयाँ समीकरणको आधारमा सरकार बनाउने भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गर्ने निर्णय भएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जना सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेत बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो ।

समझदारीअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रूपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको छ ।