गुराँस गाउँपालिका चलचित्र छायाँकनको लागि उपयुक्त स्थान हो : चलचित्र बोर्डका अध्यक्ष केसी


सुर्खेत । गुराँस गाउँपालिका दैलेख चलचित्र छायाँकनका लागि उपयुक्त स्थान भएको राष्ट्रिय चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले बताएका छन् । आज गुराँस गाउँपालिका ८ र ६ तथा वीरेन्द्रनगर १६ को सिमाना भिउचुलामा आयोजित गुराँस संवाद तथा चलचित्र पर्यटन अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संसारकै सुन्दर देश नेपालमा थुप्रै पर्यटकीय क्षेत्रहरु भएका र त्यसमा पनि कर्णालीमा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेको भन्दै उनले गुराँस गाउँपालिकामापनि चलचित्र छायाँकनका लागि अशाध्यै राम्रा स्थानहरु रहेको बताएका हुन् । उनले गुराँसबासीहरुको चाहाना अनुरुप गुराँस गाउँपालिकालाई चलचित्र नगरी बनाउने तथा पर्यटकीय क्षेत्र बनाउनका लागि बोर्डले कामको थालनी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

चलचित्र देशलाई चिनाउने, सभ्यता बचाउने र पर्यटन विकासलाई समेत बचाउने माध्यम हुँदाहुँदैपनि राज्यले यस विषयमा नसोच्दा पर्यटनसँग जोडिएको नागरिकको आर्थिक विकास समेत पछाडी परेको उनले टिप्पणी गरे । हालसम्म चलचित्र ऐन पास गर्ने कुरामा सरकार चुकेकोले विदेशी पर्यटकहरुलाई नेपालले भित्राउन नसकेको उनले बताए । पर्यटन विकाससँगै नागरिकहरुको आर्थिक तथा सामाजिक विकास समेत जोडिएकोले यसमा तिनै तहका सरकारहरु चनाखो हुनुपर्ने उनले बताए ।

चलचित्र छायाँकनका लागि असहज स्थानमा जान नसकिने भन्दै उनले गुराँस गाउँपालिकाका विभिन्न स्थानमा चलचित्र छायाँकनका लागि जाँदा सहज सडक पहुँच रहेको उनले सुनाए । आँफु पहिलो पटक कर्णाली आउने अवसर जुरेको र कर्णालीमा थुप्रै हेर्न र घुम्न लाएक ठाउँहरु देख्दा चलचित्र छायाँकनका लागि कर्णाली आउनैपर्ने ठाउँ रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक आकाश अधिकारीले कर्णाली घुम्न लाएक, हेर्न लाएक र चलचित्र छायाँकन गर्न लायक ठाउँ रहेको भन्दै आँफुले गुराँस गाउँपालिकाकै विभिन्न स्थानमा चलचित्र छायाँकन गर्ने तयारी गरेको बताए ।

कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले भौतिक विकास मात्रै विकास नभई मानविय विकास समेत विकास भएकोले चलचित्र क्षेत्रको विकासले समेत नागरिकको आर्थिक विकास तथा सामाजिक विकास गर्ने धारणा राखे । उनले चलचित्रसँग नजानिदो ढंगले थुप्रै कुराहरु जोडिएर आउँने र मुख्य रुपमा पर्यटन विकास जोडिने भएकोले गुराँस गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि चलचित्र क्षेत्र मेरुदण्ड रहेको बताए । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. महेन्द्र मल्ल, लगाएतको सहभागीता रहेको थियो ।