प्रचण्डले प्राप्त गरे विश्वासको मत


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात जना सांसद अनुपस्थित थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीलाई सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक प्रतिनिधि सभामा रहेका धेरैजसो दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।

संसदमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यो समयमा नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो ।

राष्ट्रपति चुनावका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक २०७९ चैत ६ गते पुनः प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । त्यो समयमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।