कसैले पनि निर्वाचन खल्बल्याउने दिवास्वप्न नदेखे हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ—बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्रताको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट रहेको बताएका हुन्।

उनले सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सँधै सम्मान गर्ने र आयोगका औपचारिक दस्तावेजमा निर्वाचनको वातावरण र यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आम सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको स्पष्ट उल्लेख गरिएको स्मरण गराए।

उनले प्रेस काउन्सिल नेपाल, ऐन २०४८ बमोजिम काउन्सिलले गहनता पूर्वक पत्रकार आचारसंहिताको अनुगमन गरोस् र त्यसबारे आयोगलाई जानकारी गराओस् भनेर निर्देशन दिने निर्णय भएको पनि स्पष्ट पारेका छन्।

प्रमुख आयुक्त थपलियाले काउन्सिल सशक्त होस् र पत्रकार आचारसंहिताबमोजिम सञ्चारमाध्यमलाई स्व नियमन र स्वमूल्यांकन गराउन काउन्सिलले पहल गरोस् भन्ने आयोगको चाहना रहेको पनि अवगत गराए। स्वनियमन र स्वमूल्यांकनलाई प्रभावकारी बनाउँदा सञ्चारमाध्यमलाई कसैले निर्देशन दिइरहनु वा उसमाथि अनुगमन गरिरहनु नपर्ने पनि उनको भनाइ थियो ।