सुर्खेत । गुराँस गाउँपालिका दैलेखले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा सेवाग्राहीका लागि टोकन प्रणाली लागु गरेको छ । टोकन प्रणालीको उद्घाटन कर्णाली प्रदेश प्रमुख तिलक परियारले गरेका हुन् । नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउने उदेश्यले टोकन प्रणाली सुरुवात गरिएको हो ।
कार्यक्रममा बो्ल्दै प्रदेश प्रमुख परियारले गुराँस गाउँपालिका सुशासनका क्षेत्रमा जिल्लाकै उत्कृष्ट रहेको बताउँदै नागरिकको नजिकको सरकारले सुशासन कायम गर्नुसक्नु सकारात्मक रहेको बताए । नागरिकलाई राज्यले दिने सेवा र सुविधामा विभेद नगरिकनै र छिटो छरितो सेवा समेत दिनुपर्ने धारणा उनले राखे ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रदेश प्रमुख परियारले गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको नयाँ कार्यकक्षको उद्घाटन समेत गरेका छन् । स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले गुराँसका नागरिकहरुको सम्बृद्धीका लागि आँफुहरुले हरबखत काम गरिहरेको बताए । बि.सीले नागरिकले वडा स्तर तथा गाउँपालिकाबाट सेवा लिनेक्रममा सास्ती पाएको भए प्रश्न उठाउन अनुरोध समेत गरे ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले गाउँपालिकाले शासकीय सुधारतर्फ थुप्रै काम गरेको बताए ।
फरकबाटो २७ फाल्गुन २०८०, आईतवार २१:५९