नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा पठायो


सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

यसअघि प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको विधेयक राष्ट्रिय सभाले भने दफावार छलफलका लागि समितिमा पठाएको हो ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकोमा त्यसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

अब विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । समितिले विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेस गर्नेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बोलाइएको छ ।

यसअघि दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले १४ दिन रोकेर सन्देशसहित सदनमै फिर्ता गर्नुभएको थियो ।