महिला हुनुमा गर्व लाग्छ


सुर्खेत । “हामी छौ र सृष्टि चलेको छ, हिजो हाम्री आमा नजन्मिएको भएपनि हामीहरुले यो संसार देख्दैनथ्यौ । हामीहरु सहनशिल छौं र जस्तो सुकै पिडामा पनि परिवारको खुशीका लागि काम गर्न सक्छौं । त्यो गुण सबैमा हुँदैन । त्यसैले महिला हुनुमा गर्व लाग्छ ।” बुधबार गुराँस गाउँपालिकाको आयोजना तथा महिला सशक्तिकरण मञ्चको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्रक्रिया तथा महिला सञ्जाल गठन कार्यक्रममा आफ्नो परिचय सहित यो भनाई गुराँस गाउँपालिका ८ की ईश्वरी कुमारी खड्काको थियो ।

उनी मात्रै होइन गुराँस १ की बाटुला अर्याल खड्काले पनि महिला हुनुमा कुनै पछुतो नभएको र अर्को जुनी पनि महिला नै भएर जन्म लिन पाउँ भन्दै भगवानसँग प्राथाना गर्दै आफ्नो परिचय सुरु गरिन् । कार्यक्रममा सहभागी गुराँस १ देखि ८ वटै वडाका महिलाहरुले उक्त कार्यक्रममा परिचय गर्दा नै महिला हुनुमा कुनै पछुतो नभएको बताएका थिए ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गुराँस गाउँपालिका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा आर्थिक सहयोग महिला सशक्तिकरण मञ्चले गरेको थियो । सो अवसरमा अन्तर्रक्रिया तथा महिला सञ्जाल गठन समेत गरिएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै पुर्व प्रतिनिधि सभा सदस्य पार्वती विसुन्केले महिलाहरु अब आफ्नालागि बोल्ने बेला आएको र परिवर्तनका लागि नबोली सुख्खै नहुने बताईन् । उनले हिजो निर्वाचनमा भोटको अधिकार नभएका महिलाहरु आज राष्ट्रपती भएर देश हाँक्न सक्ने हुनुमा अग्रज महिलाहरुको ठुलो देन भएको भन्दै आफ्नो स्थानबाट आवाज उठाउन कुनैपनि महिला पछि हट्न नहुने बताईन् ।

कार्यक्रममा  आफ्नो धारणा राख्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले महिलामा लगानी भए र महिलाहरुले अधिकार प्राप्त गरेमात्रै समाज सम्बृद्ध र सुखी हुने बताए । उनले गुराँस गाउँपालिकाले पुर्वाधार विकास मात्रै नभई देखिने र परिवर्तन हुने गरि सामाजिक क्षेत्रमा समेत लगानी गरेको र आगामी दिनमा अँझै प्रभावकारी ढंगले सिमान्तकृत समुदायहरुको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले महिलाहरु केही पनि गर्न सक्दैनन् भन्ने धारणा आज परिवर्तन भएर महिलाहरु धेरै काम गर्न सक्छन् भन्नेसम्मको अवस्था आइसकेको बताईन् । पुर्ण रुपमा कानुनले प्रदान गरेको अधिकार कार्यान्वयन भएको खण्डमा महिलाहरु राज्यका कार्यकारी पदमा गई देशमा सम्बृद्धी ल्याउन सक्ने क्षमता महिलाहरुमा रहेको उनले बताईन् ।

महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दले हिजो महिलाहरु धारामा पानी ल्याउने बाहानामा आफ्ना दिवस मनाउनुपर्ने अवस्थाबाट आज आफ्नो अधिकारका बारेमा खुलेरै बोल्न सक्ने भएको भन्दै खुसी व्यक्त गरिन् ।

कार्यक्रममा गुराँस गाउँपालिकाका ८ (आठ) वटै वडाका महिलाहरु, गाउँपालिकाका महिला कर्मचारी गरि करिब ६५ जनाको सहभागीता रहेको थियो ।

यस्तै आजै गुराँस गाउँपालिका पालिका स्तरिय महिला सञ्जाल समेत गठन गरिएको छ । १७ सदस्यीय सञ्जालको अध्यक्षमा गुराँस ८ की ईश्वरीकुमारी खड्का, उपाध्यक्षमा गुराँस १ की बाटुला अर्याल खड्का, कोषाध्यक्षमा गुराँस ३ की मिना सारुमगर, सचिवमा गुराँस ६ की सुनिता केसी, सहसचिवमा गुराँस ५ की मानकुमारी वि.क चयन भएका छन् ।

यस्तै सदस्यहरुमा गुराँस १ की अमृता रावल, गुराँस २ की गगनसरा वली, गुराँस ३ की नन्दा वली, गुराँस ४ की मञ्जु गुरुङ्, र मिना गुरुङ, गुराँस ५ की कृष्णा सिंह, गुराँस ६ की कृष्णा बि.सी, गुराँस नन्दकला विष्ट र चन्द्रकला परियार र गुराँस ८ की गिता खड्का चयन भएका हुन् । एकजना सदस्य भने सञ्जालको बैठकबाट चयन गर्ने तयारी रहेको सञ्जालका नवनिर्वाचित अध्यक्ष इश्वरी खड्काले जानकारी दिईन् ।