लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी

सुर्खेत । संयुक्त राष्ट्र सङ्घले लिबियाको बाढी प्रभावित सहर डेर्नामा विस्थापित भएका ३० हजार मानिसलाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको बताएको छ ।

लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय सहायता मिसनले आज सोमवार विज्ञप्ति निकालेर प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, निर्जलीकरण र कुपोषणको समस्या बढिरहेको भन्दै तत्काल सहायता चाहिएको बताएको हो । विज्ञप्तिमा हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने चेतावनीसमेत रहेको छ ।

गएको हप्ता संयुक्त राष्ट्र सङ्घले डेर्ना र पूर्वी लिबियाका अन्य भागमा आपत्कालीन प्रतिकार्यका लागि सात करोड १० लाख अमेरिकी डलरभन्दा बढीको सहायता अपिल गरेको थियो ।

सेप्टेम्बर १० मा आएको आँधीका कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देश लिबियामा आएको बाढीमा परेर ११ हजार तीन सय जनाको ज्यान गएको लिबिया रेडक्रसले जनाएको छ । अझै १० हजार जनाभन्दा धेरै हराइरहेका छन् । बाढीका कारण आठ सय ९१ वटा भवन पूर्णरूपमा भत्किएका छन् । यस्तै दुई सय ११ वटा आधा भत्किएका र तीन सय ९८ वटालाई माटोले पुरेको लिबिया सरकारले जनाएको छ