नीति निर्मातासँग युवाहरुलाई काम गर्ने अवसर


सुर्खेत । कर्णाली प्रदेशका युवाहरुलाई नीति निर्माण प्रक्रियाबारे बुझ्न र नीतिनिर्माताहरुसँग काम गर्ने अवसर खुलेको छ ।फेलोशिप कानून निर्माण र संसदीय कार्यमा युवाहरूको सहभागिता प्रवर्द्धन गर्न अमेरीकी दुतावासको सहयोग तथा पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा ऋति फाउण्डेशनले सञ्चालन गर्न लागेको हो ।

यसका लागि कर्णाली प्रदेशमा पहिलोपटक पूर्व–व्यावसायिक संसदीय सहयोग कार्यक्रम  पीपीएसपी कर्णालीको अनलाइनमार्फत आवेदन फाराम खुलेको छ ।

छनोटदेखि अभ्यासको चरणसम्म सहभागीहरूले विभिन्न तालिम, मार्गदर्शन र क्षमता अभिवृद्धिमा भाग लिने अवसर पाउनेछन् । फेलोसिपको लागि ५० वटा कोटा रहेको छ, जसमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ ।

१ वर्षसम्म चल्ने फेलोशिपको पहिलो छ महिना युवाहरुले संसदीय प्रक्रिया, कानुन निर्माण प्रक्रिया तथा सार्वजनिक सरोकारका विषयका साथै व्यक्तिगत क्षमता अभिवृद्धीका तालिम पाउनेछन् । तालिमको प्रस्तुती र सक्रियताका आधारमा छनोट भएका १२ जना युवाहरुले बाँकि छ महिना कर्णाली प्रदेश सभाका सदस्हयरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने ऋति फाउण्डेशनले जनाएको छ ।

पीपीएसपी फेलोशिप कर्णाली प्रदेशका युवाहरुलाई कानून निर्माण र सार्वजनिक नीति निर्माणको प्रक्रियामा संलग्न गराउने उदेश्यले आयोजना गरिएको ऋति फाउण्डेशनले जनाएको छ । पीपीएसपीका सहभागी (फेलोहरुले) कर्णाली प्रदेश सभाका सांसदहरुसंग रहेर ६ महिना सम्म काम गर्ने अवसर पाउनेछन् ।

समावेशीता, लगनशीलता र योग्यताको मापदण्डलाइ अवलम्बन गर्दै लोकतान्त्रिक प्रक्रियाद्वारा ५० फाइनल सहभागी हरूलाई पहिलो शिविरको लागि छनौट गरिनेछ । तिनै ५० मध्येबाट २५ जना सहभागी लाइ छनौट गरि दोस्रो शिविर सम्पन्न गरेपछि १२ जनाको अन्तिम सूची निकालेर ती १२ जनाको लागि तेस्रो शिविरको आयोजना गरिनेछ ।

तेस्रो तह को तालिम पछि १२ जना फाइनलिस्टले कर्णाली प्रदेशका सांसदसँग काम गर्नेछन् ।फेलोशिपका लागि आवेदन ब्याचलर तह अध्ययनरत कर्णाली प्रदेशका २० देखी ३० वर्ष उमेर समहुका युवाहरुले दिन पाउनेछन् ।