
सुर्खेत । हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार मृत्यु भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।
इमरानलाई जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालकको मृत्यु भएको हो । हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण समस्या छ ।
त्यस्तै, झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई परिवारले घरमै लगेका र पछि मृत्यु भएको सुवेदीले बताए ।

फरकबाटो २७ श्रावण २०८०, शनिबार १४:०१