एसीसी इमर्जिङ कप : समूह ए बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा


सुर्खेत । एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का ए ले ओमान ए लाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको छ ।

श्रीलङ्काले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भयो । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमोद मदुशन र लाहिरु समाराकूनले २र२ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाए । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन बनाए । बलिङतर्फ अकिब इलियासले ४ विकेट लिए ।

यो जितसँगै श्रीलङ्का ३ खेलमा ४ अङ्कसहित समूह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । ३ खेलमा १ अङ्क पनि जोड्न नसकेको ओमान यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

यस्तै आजै भएको अर्को खेलमा बङ्गलादेश ए ले अफगानिस्तान ए लाई २१ रनले हराएको छ । बङ्गलादेशले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र सौम्य सरकारले २र२ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायो । बङ्गलादेशका महमुदुल हसन जोएले शतक बनाए । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।

यो जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह एु को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै समूह बी बाट भारत र पाकिस्तानको ए टोली सेमिफाइनलमा पुगेका छन् ।