भारतसँग नेपालको लज्जास्पद हार

भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई दुई गोल गरे । यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक गोल गरे ।

May be an image of 5 people, people standing and grass

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ७ गोल गरेको थियो । खेलको ३२ औं मिनेटमा टाइसनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा पार्थिवले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

५२ औं मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । खेलको ६६ औं मिनेटमा टाइसनले व्यक्तिगत गोल गर्दा भारत ४-० ले अघि रह्यो ।

७१ औं मिनेटमा हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गर्दै भारतलाई ५-० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा टन्कधरले गोल गर्दा भारत आधा दर्जन गोलले अघि रह्यो ।

९० औं मिनेटमा गुर्किरातले गोल गर्दै भारतको अग्रता ७-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा सुभोले गोल गर्दै भारतलाई ८-० को जित दिलाए ।

भारतको यो दोस्रो जित हो ।  जितसँगै भारतले ३ खेलमा ६ अंक जोडेको छ ।  भारतको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

नेपालको यो पहिलो हार हो ।   नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालको पनि फाइनल पुग्ने संभवाना जीवित रहेको छ ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । बंगलादेश ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्स र श्रीलंका उपाधि होडबाट बाहिरिसकेको छ ।