डेंगुविरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगुविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेंगुविरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरी लामखुट्टेको वासस्थान पत्ता लगाई नष्ट गर्न आग्रह गरिएको छ ।

यस्तै आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेंगविरुद्धको अभियान सफल पार्न आग्रह गरिएको छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । गएको पुसयता एक हजार तीन सय ३७ जनामा सङ्क्रमण छ भने एक जनाको निधन भइसकेको छ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

सम्भव भएसम्म लामखुट्ट नै भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले आग्रह गरेको छ । यसैगरी उपत्यकाका स्थानीय तहले साउनदेखि ‘लामुखट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन्।