कक्षा-१२ को पुनर्योग नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पुनर्योगको नतिजा प्रकाशित गरेको छ। बोर्डले वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएकाको नियमित/आंशिक/ग्रेडवृद्धि परीक्षार्थीहरूको अन्तिम चरणको पुनर्योगको नतिजा बुधबार प्रकाशित गरेको हो।

बोर्डका अनुसार २०७९ साल जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालित कक्षा-१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको अन्तिम चरणको पुनर्योगको नतिजा बोर्डको ०७९ कात्तिक २३ गतेको निर्णयअनुसार प्रकाशित गरिएको छ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डको कार्यालयमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

त्यस्तै,पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको शुल्क (प्रति विषय दुई हजार) बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेस गर्न सक्ने पनि बोर्डले जानकारी दिएको छ।