जहाज खरिद गर्नु निजी स्वार्थ होइन स् पर्यटन मन्त्री

सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु निजी स्वार्थ नभएको स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्री किरातीले जहाज खरिद गर्नु निजी स्वार्थ नभएको बताउँदै राष्ट्रिय आवश्यकता भएको बताएका हुन् ।

उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए । मन्त्री किरातीले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान नभएकाले राष्टिय हितका लागि जहाज खरिद गर्नुपर्ने बताए ।

मन्त्री किरातीले आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको पनि बताए । कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उनको भनाइ थियो ।

मन्त्री किरातीले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए ।