निवार्चनलाई भयरहित बनाउन सुर्खेतमा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रुपमा रोक लगाएको छ ।

प्रशासनले शुक्रवार एक सूचना प्रकाशित गर्दै निर्वाचनका लागि भइरहेका प्रचार प्रसारको कार्यलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । प्रशासनले (शुक्रवार) आजदेखि लागु हुने गरी मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

त्यस्तै प्रशासनले शुक्रवारदेखि निवार्चनको मतपरिणाम घोषणा नभएसम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जन सम्बन्धी क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ । मंसिर ४ गते मतदान सुरु हुनुभन्दा २४ घण्टा अघिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकर जस्ता विस्फोटनमा प्रयोग हुन सक्ने सामग्रीहरुको ओसारप्रसार तथा विक्रीवितरणमा समेत प्रशासनले रोक लगाउने निर्णय गरेको छ ।