
सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आज आइतवार चौथो पटक पनि राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ ।
राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म आफूहरूले संसदमा अवरोध गर्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनःस्थगित हुन पुगेको छ ।
बैठकमा एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसदमा अवरोध गर्ने कामलाई निरन्तरता दिने अडान राखिन् । उनले प्रधानमन्त्री प्रचण्ड संसदमा आएर त्यो विषयको स्पष्टीकरण दिन लायक नरहेको समेत सुनाईन् ।
सांसद न्यौपानेले प्रधानमन्त्रीले यसअघि पनि पटक–पटक राष्ट्रघाती काम गरेको भन्दै अब सह्य नहुने चेतावनीसमेत दिइन् । एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अब भोलि सोमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

फरकबाटो २४ असार २०८०, आईतवार १४:५५