शिक्षामा करिब २ खर्ब रुपैयाँको बजेट

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई पनि जोड दिएको छ । आर्थिक वर्ष २०७९÷८० को लागि शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकातर्फ गरी झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा क्षेत्रतर्फ प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र पालिकामा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ ।

शिक्षामा पहुँच विस्तार गर्ने, तथ्य र विज्ञानमा आधारित शिक्षाको प्रवर्द्धन गरिने, प्रदेश र पालिकाको सहकार्यमा रोजगारीमूलक जीवनोपयोगी शिक्षा प्रदान गरिने उल्लेख छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसाययिक ज्ञान र सीप प्रदान गरिने बजेटमा उल्लेख छ ।

अहिले एक सय ४० वटा विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम थप एक सय वटा विद्यालयमा विस्तार गरिने उल्लेख छ । यस्तै मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न मेडिकल कजेल स्थापना गरिने बजेटमा उल्लेख छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आउँदो वर्ष एक हजार दुई सय विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्न आठ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ ।

दिवा खाजा कार्यक्रमलाई क्रमश कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यसहित आउँदो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिइने बजेटमा उल्लेख छ ।