चिनियाँ अर्बपति ज्याक माको कम्पनीलाई एक अर्ब अमेरिकी डलरभन्दा धेरै जरिबाना


सुर्खेत । चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई चीनको वित्तीय नियमनकारी निकायहरूले एक अर्ब अमेरिकी डलरभन्दा धेरै जरिबाना तोकेको छ ।

विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिबाना तोकिएको बीबीसीले जनाएको छ ।

हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपेलगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । चीन सरकारले सन् २०२० को मध्यतिर आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला तीन सय अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट ग्रुपको पछिल्लो कुल मूल्य घटेर झन्डै ८० अर्ब डलर हाराहारीमा आएको बीबीसीले जनाएको छ ।

चिनियाँ सरकारले सन् २०२० यता आफ्नो देशका प्रमुख इन्टरनेट र ईकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका कारण अर्बपति ज्याकमाका कम्पनी बढी समस्यामा परेका छन् । एन्टलाई लगाएको जरिबाना चीनको इतिहासमै कुनै पनि ईकमर्स कम्पनीलाई लगाइएको सबैभन्दा ठूलो जरिबाना हो ।

चीनको केन्द्रीय बैंक, पिपल्स बैंक अफ चाइनाले वित्तीय सुशासन, ग्राहकको सुरक्षा, लेनदेन तथा व्यावसायिक समस्याको सम्बोधन, अवैध धनको कारोबार नियन्त्रण लगायतमा चुकेको कारण एन्ट ग्रुपमाथि जरिबाना लगाएको बताएको छ । लामो समय विदेश बसेका ज्याकमा केही महिनाअघि चीन फर्किएर सार्वजनिक कार्यक्रममा देखिन थाल्नुभएको छ ।