कंगोमा हिंसा भड्किँदा शान्ति सेनासहित १५ जनाको मृत्यु

काठमाडौं । कंगोको उत्तरी किभु प्रान्तको मुख्य सहर गोमामा हिंसा भड्किएको छ। स्थानीयहरुले संयुक्त राष्ट्रसंघको मिशनविरुद्ध प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्थानीयहरुले मिशनको मुख्यालयमा आगजनी गर्नुको साथै लुटपाटसमेत गरिरहेको समाचारमा उल्लेख छ।

यसैबीच नेपाली सेनाले मिशनमा तैनाथ नेपाली शान्तिक सैनिकहरु सुरक्षित रहेको जानकारी दिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै नेपाली शान्ति सैनिक र सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी दिएको छ।

‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका समप्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितको निरन्तर अनुगमन गर्न र शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रदर्शन क्रममा हालसम्म १५ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ। संघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्ध अपराध हुनसक्ने बताएका छन्।

संयुक्त राष्ट्र संघले प्रदर्शनकारीहरुले कंगोली प्रहरीबाट हिंसकरुपमा हतियार खोसेको र शान्ति सेनामाथि गोली चलाएको बताएको छ। प्रदर्शनकारीहरुले ढुंगा र पेट्रोल बम प्रहार गरेको राष्ट्र संघको दाबी छ।

प्रदर्शनका क्रममा बुटेम्बोमा एक शान्ति सैनिक र दुई संयुक्त राष्ट्र प्रहरी अधिकारीको मृत्यु भएको बताइएको छ। उनीहरु कुन देशको हो भनेर खुलेको छैन।