रुस–युक्रेन युद्धका कारण तनावग्रस्त खेअर्सन सहर छाड्दै रुसी नागरिक

रुस–युक्रेन युद्धका कारण तनावग्रस्त खेअर्सन सहरबाट रुसी नागरिक बाहिरीन थालेका छन् । युक्रेनको दक्षिणी खेअर्सन क्षेत्रबाट हजारौँ नागरिक र रुसले नियुक्त गरेका अधिकारीलाई त्यहाँबाट अन्तै सारिएको छ ।

APTOPIX Russia Ukraine War

रुसी टेलिभिजनले मानिसहरूले सहर छोड्दै गरेको भिडियो र तस्बिर देखाएका छन् । रुसले नियुक्त गरेका अधिकारी भ्लादिमिर साल्डोका अनुसार त्यस क्षेत्रमा रुसले नियुक्त गरेका विभाग र मन्त्रालयलाई नीपर नदीपारि लगिनेछ ।

त्यहाँबाट लगभग ५० देखि ६० हजार नागरिकहरूलाई क्रमिक रुपमा  विस्थापन गरिने साल्डोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । युक्रेनले खेअर्सनका बासिन्दालाई रुसको कदमको बेवास्ता गर्न आह्वान गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले गाभेको भनेर दाबी गरेका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेको घोषणा गर्नुभएको छ । रुसले सन् २०१४ मै गाभेको युक्रेनको क्राइमियालगायत केही भागमा नयाँ प्रतिबन्ध लागू भैसकेका छन् ।