बङ्गलादेशको शिविरमा झडप हुँदा ६ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु


सुर्खेत । बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन त्यस बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा छ जनाको ज्यान गएको प्रहरीले शुक्रवार जनाएको छ ।

बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका झन्डै १० लाख सदस्य छन् । उनीहरूमध्ये धेरैजसो सन् २०१७ मा छिमेकी देश म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।

ुअराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए) र रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेशन (आरएसओ) बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो हप्ताको हिंसा पछिल्लो घटना हो ।

शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रवार बिहान सबेरै भएको सशस्त्र झडप (गोली हानाहान) मा पाँच जनाको मृत्यु भएको छ । झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।