राष्ट्रियसभा बैठकमा आज पनि एमालेको अवरोध


सुर्खेत । नेकपा एमालेका सांसदहरूको अवरोधपछि राष्ट्रियसभा बैठक आज शुक्रवार पनि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनको राजीनामा माग्दै एमाले सांसदहरूले आजको बैठकमा पनि अवरोध गरेका हुन् । योसँगै राष्ट्रियसभा बैठक लगातार तेस्रो दिन स्थगित भएको छ । एमालेको अवरोधका कारण बुधवार र बिहीवारको बैठक पनि स्थगित भएको थियो ।

बैठकमा एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र नागरिकको स्वाभिमान र संसद्को गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान लिनुपरेको बताएकी छन् । देशकै सम्मानित पदमा पुगेका व्यक्तिले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि आँच आएको उनको भनाई रहेको थियो ।

एमाले सांसदहरूको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक पर्सि आइतवार दिउँसो ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेका छन् ।