उज्यालो वीरेन्द्रनगर (तस्बिर)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रातको समयमा उज्यालो बनाइएको छ । रातीको समयमा राजधानीको मुख्य बजार क्षेत्रमा बत्ती जडान गरेर उज्यालो बनाइएको हो । वीरेन्द्रनगर नगरपालिकाले नगरलाई रातिमा पनि उज्यालो र सुरक्षित नगर बनाउने उद्देश्यले हाईमास लाइट जडान गरेको छ ।

नगरपालिकाले उज्यालो नगर कार्यक्रमअन्तर्गत नगरका मुख्य ठाउँमा हाईमास लाइट जडान गरेको जनाएको छ । नगरपालिकाका अनुसार नगरका १२ वटा मुख्य चोकहरुमा लाइटहरु जडान गरिएको हो ।

मानिसहरुको बढी चहलपहल र भीडभाड हुने मुख्य चोकहरुमा लाइट जडान गरिएको छ । राजमार्ग, वीरेन्द्रनगरचोक, घण्टाघरचोक, मंगलगढीचोक, गणेशचोक, पिपिरा चोकसहित नगरका मुख्य ठाउँहरुमा हाईमास लाइट जडान गरी बत्ती बालिएको छ ।


पछिल्लो समय वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न ठाउँँ रातिमा पनि उज्यालो बन्दै गएपछि पैदलयात्री तथा सवारीसाधनलाई आवतजावत गर्न सहज भएको छ । विभिन्न ठाउँमा उज्यालो हुँदा वीरेन्द्रनगर बजार क्षेत्रमा हुने सवारी दुर्घटना न्युनीकरणमा सहज भएको हो ।

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले उज्यालो नगरसँगै सुरक्षित नगर बनाउने उद्देश्यले हाईमास लाइट जडान गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘नगरका एकसय २० ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । सबैतिर उज्यालो भयो भने सहज हुन्छ । उज्यालो नगरसँगै सुरक्षालाई मजबुत बनाउने पनि हाम्रो उद्देश्य हो ।’

समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा रहेका हाईमास लाइटले दुईसय मिटरसम्म उज्यालो दिने नगर उपप्रमुख ढकालको भनाइ छ । उनले कर्णाली प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा लाइट जडान गरिएको जानकारी दिएकी छन् ।

 हाईमास लाइट राख्नका लागि हालसम्म एक करोड पाँचलाख रुपैयाँ खर्च गरिएको छ भने नगरपालिकाले नगरका सबै ठाउँमा हाईमास लाइट राख्ने योजना बनाएको छ ।

राजमार्गका बाँकी ठाउँ, घना वस्तीको बिच भाग र मुख्य चोकहरुमा पनि लाइट राखिने नगरपालिकाको योजना छ । नगर उज्यालो कार्यक्रमअन्तर्गत नगरपालिकाले सबै वडाहरुमा सोलार बत्ती र पोलहरु समेत राखेको छ । नगर उपप्रमुख ढकालले वडाका टोलहरुमा सोलार बत्ती समेत जडान गरिएको जानकारी दिइन् ।