सुर्खेत । ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा नाबालिगमाथि बलात्कार भएको भन्दै उजुरी परेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले १६ वर्षीया किशोरी बलात्कारको घटनामा सञ्चालक राजुसिंह सुवाललाई बिहीबार पक्राउ गरेको हो । सुवाललाई बालुवाटारबाट पक्राउ गरिएको छ ।
कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन् । उनीहरूविरूद्ध असार १३ गते नै पक्राउपुर्जी जारी भएको थियो । घटनाबारे थप अनुसन्धानका लागि सुवाललाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने ललितपुर प्रहरीले जनाएको छ । पक्राउपुर्जी जारी भएकामध्ये श्रेष्ठ भने फरार छन् ।
गत जेठ ३१ गते राति एलओडीबाट मदिरा सेवन गराई किशोरीलाई गाडीमा हालेर ललितपुर बागडोलमा पुर्याएर सुदनबहादुर कोइरालाले बलात्कार गरेको आरोप लागेको थियो ।
ललितपुर प्रहरीले बलात्कार आरोपित कोइरालालाई सोही दिन पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
किशोरीलाई एलओडीमा प्रवेश गराएको विषयमा बालबालिकासम्बन्धी ऐन–२०७५, दफा ६६ को उपदफा २ को (क) र (ख) बमोजिम सञ्चालक कारबाहीको भागिदार हुने भन्दै प्रहरीले पक्राउ गरेको हो ।
फरकबाटो २२ असार २०८०, शुक्रबार ०९:४९