किसानलाई तत्कालै मल उपलब्ध गराउन प्रतिनिधि सभाद्वारा सरकारलाई निर्देशन

काठमाण्डौ । प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र अहिले प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताए ।