कालीकोटमा पत्ता नलागेको रोगका कारण एकजनाको मृत्यु, ५१ जना बिरामी


सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुमा रहेको महादेव माध्यमिक विद्यालयमा पत्ता नलागेको रोगका कारण एक विद्यार्थीको मृत्यु भएको छ ।

पत्ता नलागेको रोगका कारण कक्षा ६ मा अध्ययनरत कर्मा थापाको मृत्यु भएको हो । यस्तै अन्य ५१ जना विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा एक हप्ता अघिदेखि विद्यार्थी बिरामी पर्न थालेका विद्यालयले जानकारी दिएको छ ।

प्रारम्भिक बाल विकास (ईसीडी) का १३ जना शिक्षक र कक्षा ५ का १६ जना विद्यार्थीको अनुहार सुन्निएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । यस्तै कक्षा ३ का १८ जना विद्यार्थीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या आएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटको टोली प्रभावित क्षेत्रतर्फ गइसकेको छ ।