सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै


सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गत माघ २६ गते प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर माओवादी र नागरिक उन्मुक्ति पार्टीको आ–आफ्नै अडानले मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

यता नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीले फेरी पनि लिखित प्रतिबद्धता मागेको हो ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ जना सांसद छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ४ अनुसार नियुक्त भएको ३० दिनभत्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।