सभामुखको हस्ताक्षर गराई बहुमत पुर्याएर कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त


सुर्खेत । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका छन् ।

यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकारको दाबी गर्न आज बिहीवार बेलुकी ५ बजेसम्मको समय दिएका थिए । बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्नेमा कोशीमा दुवै पक्षको बहुमत नपुग्दा अन्योल थियो । तर आज सत्ता गठबन्धनले सभामुखको समेत हस्ताक्षर बुझाएर उद्धव थापालाई मुख्यमन्त्री बनाउन सफल भएको छ ।

तर नेकपा एमालेले भने सरकार गठनको दाबीमा सभामुखले समेत हस्ताक्षर गरेर संविधानकै उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ । प्रदेश प्रमुखले गैरकानुनी नियुक्ति गरेको भन्दै कानुनी उपचार खोज्ने एमालेको तयारी छ ।