कालिकोटमा मलामी गएका १३ जना नदिमा बेपत्ता, सबैको अवस्था अज्ञात

सुर्खेत । कालिकोटमा मलामी गएका १३ जना नदिमा बेपत्ता भएका छन् । हिजो करिब २ बजेतिर तिलागुफा नगरपालिका ४ राँचुलीस्थित तिला कर्णाली नदि र कुकुर खोलाको भाडी खोलामा दाहसंस्कार गर्दै गरेको अवस्थामा खोलामा ठुलो पहिरो आई उनीहरुलाई बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक (एस.एस.पी) माधव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नदिमा बेपत्ता हुनेहरुमा तिलागुफा नगरपालिका ४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, सोही ठाँउका ६३ वर्षीय धनबहादुर शाही, ३३ वर्षीय छत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही रहेका हुन् ।

यस्तै ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वरिष्ठ उपरिक्षक श्रेष्ठका अनुसार प्रहरीलाई आज बिहान मात्रै घटनाबारे जानकारी भएको र उनीहरुको खोजी भइरहेको छ । उनीहरुको अवस्था अहिलेपनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।