मेक्सिकोमा मेयरले गरे गोहीसँग बिहे

सुर्खैत । मेक्सिकोमा मेयरले गोहीसंँग बिहे गरेका छन् । मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।

सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् । वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।

मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।

सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।

सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।

गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।

पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे  समुदायकी राजकुमारी मानिन्छ । ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।