मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ : प्रधानमन्त्री दाहाल


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवम् समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने उनले बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको गरे ।

‘मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले भने, ‘समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् ।’

उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे ।