बालुवाटार जग्गा प्रकरणको रिट न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा

सुर्खेत । बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।

शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । प्रतिवादीहरुले सोमबार लिखित जवाफ बुझाएपछि आजका लागि पेसी तोकिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा ठगी र किर्तेको कसुरमा अनुसन्धान अगाडी बढाएपछि सुधिर कुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइएको रिटमा यो कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्च अदालतले नै हदम्याद नाघिसकेको भनि आदेश गरिसकेकाले आफूहरुलाई थुनामा राख्न नमिल्ने माग गरिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १७ जनालाई यो मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशलाई आधार मान्दै तीन जना छुटेका थिए । सर्वोच्चले उक्त आदेश गर्दाका फायल समेत सँगै पेश गर्न भनेको छ। प्रकरणमा सीआईबीले ९ जनालाई पक्राउ गरिसकेको छ।