‘महिला सशक्तिकरण’ सबैको साझा विषय : प्रधानमन्त्री देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको सङ्कल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक प्रदान गरिएको बताए ।

प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण सबैको साझा विषय भएकाले तीनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताए । उनले भने, ‘महिला सशक्तिकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीन वटै तहको सरकारले आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक छ । देशको मूल कानुनले गरेको सबै व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति अपनाइ सरकारले काम गरिरहेको बताए । सरकारले महिलाहरूको आर्थिक अवस्थालाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आउँदा दिनमा यसलाई थप प्रभावकारी बनाउने उनले बताए ।