दैलेखमा पाँचसय बढी मेट्रिक टन धान नष्ट

दैलेख । एक महिनाअघि परेको अविरल वर्षाका कारण दैलेखमा पाँचसय तीन मेट्रिक टन धान नष्ट भएको छ । कृषि विकास कार्यालय दैलेखले जिल्लाका ११ स्थानीय तहमा माग गरिएको मध्ये नौ वटा पालिकाले पेश गरेको विबरणका आधारमा पाँचसय तीन मेट्रिक टन धान नष्ट भएको जनाएको छ ।

कार्यालयका कृषि अर्थबिज्ञ झलक भण्डारीले ११ स्थानीय तहमध्ये गुराँस गाउँपालिका र ठाटिकाँध गाउँपालिकाले आफ्नो गाउँपालिकामा धानबालीमा क्षति नभएको जानकारी दिएको बताए । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ९८ कृषकको ५६.७५ मेट्रिक टन, भैरवी गाउँपालिकामा एक सय पाँच कृषकको २७.७५ मेट्रिक टन धान नष्ट भएको छ ।

त्यस्तै, ,दुल्लु नगरपालिकामा ६७ कृषकको ४७.१५ मेट्रिक टन, महावु गाउँपालिकामा एक सय नौ कृषकको ८७.७९ मेट्रिक टन, भगवतिमाई गाउँपालिकामा ४५ कृषकको १७.९६ मेट्रिक टन, डुगेश्वर गाउँपालिकामा तीन सय ३१ कृषकको १४७.२ मेट्रिक टन, नारायण नगरपालिकामा ५९ कृषकको ३३.४ मेट्रिक टन, आठबिस नगरपालिकामा एक सय २८ कृषकको ३९.४ मेट्रिक टन धान नष्ट भएको जानकारी गराइएको छ ।

सोहीअनुसार नौमुले गाउँपालिकमा दुई सय कृषकको १३ सय ८४.५ मेट्रिक टन गरी जम्मा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको भण्डारीले बताए । उनले जिल्लामा ८५ हजार हेक्टरमध्ये एक सय ७६ हेक्टर क्षेत्रफमा क्षति भएको र सबैभन्दा बढि नामैलु गाउँपालिकाका दुई सय कृषकको १३ सय ८४.५ मेट्रिक टन धान क्षती भएको जानकारी दिए ।

कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्रबहादुर थापाले कर्णाली प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले जिल्लामा भएको धानबाली क्षतिको विवरण माग गरेअनुसार क्षतिको विवरण मन्त्रालयमा पठाएको जानकारी दिए ।

उनले पाँचसय तीन मेट्रिक टन धान नष्ट भएको र त्यसका लागि एक करोड ८८ लाख ८५ हजार दुई सय रुपियाँ माग गरिएको बताए ।