सुर्खेत । विदेश पठाउने भनेर झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालीका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो । सिरहाको करजन्हा नगरपालिका–६ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको हो ।
ठाकुरले रवीन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरनेशनल प्राली चलाइरहेका थिए । उनले यूएई, कतार, साउदी अरब, मलेसिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको छ ।
विदेश पठाउने भन्दै ठाकुरले ८५ जना युवाबाट एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको प्रहरीले जनाएको छ । युवाबाट रकम उठाएपछि ठाकुर सम्पर्कविहीन भएका थिए । ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
फरकबाटो २३ श्रावण २०८१, बिहीबार ०८:२९