पोखरामा आजदेखि ड्रागन बोट रेस फेस्टिबल सुरु


सुर्खेत । पोखराको फेवातालमा आजदेखि नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल सुरु हुँदैछ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पाँच सय र दुई सय मिटरको दुरीमा डुङ्गा दौड हुनेछ । पाँच सय मिटरतर्फ विजेताले पाँच लाख, उपविजेताले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दुई सय मिटरतर्फ विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म दौड प्रतियोगिता सञ्चालन हुनेछ ।

दुई दिने प्रतियोगितामा नेपाली र चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहनेछ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबलु मा सहभागी हुन ६० जना खेलाडीसहितको झन्डै दुई सय चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आइसकेका छन् । फेस्टिबलका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसियशन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । यो महोत्सव पोखरेलीका लागि ऐतिहासिक भएकाले यसको अवलोकनका लागि आयोजकले सबै पोखरेलीलाई आह्वान गरेको छ ।