खाँणलाई जेल हाल्ने पाँच प्रमाण


सुर्खेत । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

२७ वैशाखमा पक्राउ परेका काँग्रेस नेतासमेत रहेका खाँणले पुर्पक्षका लागि थुनामा जाँदै गर्दा पनि अभियोग स्वीकारेनन् । तर न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पाँच आधार अघि सार्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता देखिएको ठहर गरेको छ ।

पहिलो, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदमा पेश गर्न १२ मंसिर २०७८ मा स्वीकृति दिएको ।

दोस्रो, छुट शरणार्थीको विवरण पेश गर्न १४ असोज २०७८ मा कार्यदल बनाएको, कार्यादेशसँगै म्याद थप गरेको ।

तेस्रो, खाँण गृहमन्त्री भएकै समयमा मन्त्रिपरिषद्बाट प्राप्त प्रतिवेदनसँग मिल्ने नक्कली प्रतिवेदन गृह मन्त्रालयमा तयार भएको ।

चौथो, प्रेमनाथ पन्थीको जाहेरीमा पीडितहरुले रकम फिर्ता गर्न दबाव दिएकाले केशवप्रसाद दुलालले गृहमन्त्री हाम्रै मान्छे हुन्, गृहमन्त्री र गृहसचिवसँग कुरा भइरहेको छ । अब रकम फिर्ता गर्ने होइन, अमेरिका जाने हो भन्ने उल्लेख गरेको ।

र, पाँचौं, केशव दुलाल र टेकनारायण पाण्डेको संवाद र पाण्डेको बयानबाट समेत कसुरमा संलग्नता देखिएको ।