लम्पी स्किन ४० जिल्लामा फैलियो, ५ लाख पशुचौपायामा सङ्क्रमित

सुर्खेत। नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारी फैलिने क्रम बढ्दो छ । पशु सेवा विभागका अनुसार हाल देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको छ ।

गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

लम्पी स्किन रोगको सङ्क्रमण भएका धेरै पशु नमरेपनि दूध उत्पादन ८० प्रतिशतसम्म गिरावट आउने विभागले जनाएको छ । विभागका अनुसार गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुने विभागको सूचनामा उल्लेख छ ।

लम्पी स्किन रोगको सङ्क्रमित गाईभैँसीको मुख, नाक, खुट्ट तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुने गरेको विभागले जनाएको छ ।

६ हजारभन्दा धेरै सङ्क्रमित पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ३ सय ५० पालिकामा रोग देखिएको विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले जानकारी दिए ।


‘सङ्क्रमित गाईभैँसीको ओसारपसार र उनीहरुसँग हुने लसपसबाट स्वस्थ पशुमा सर्ने सम्भावना उच्च हुन्छ । लम्पी स्किन रोग नियन्त्रण गर्न सम्भव भएसम्म बजारमा पाइने खोप स्वस्थ्य पशु चौपायामा लगाउन सकिने तर सङ्क्रमित पशुलाई खोप नलगाउन र एक पटक सङ्क्रमित भएर निको भएको पशुमा खोप लगाउन आवश्यक रहेको उनको सुझाव छ ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या पनि बढ्ने र ती किरा सक्रिय हुँदा लम्पी स्किन रोग बढ्ने भएका कारण लामखुट्टे र किर्ना मार्ने औषधी प्रयोग गर्न विभागको सूझाव छ ।