९ महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो


सुर्खेत । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । गएको आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

गएको चैतसम्ममा नेपालले प्राप्त गरेको रेमिट्यान्स अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धिदर १३ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव पाँच प्रतिशतले बढेर तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या एक सय ९९ दशमलव नौ प्रतिशतले बढेको थियो ।