बालबालिका ओसार पसारमा बालबालिकाकै संलग्नता, बेचिनबाट जोगिए गुराँसका दुई बालिका


दैलेख । मंगलबार करिब दुई बजेको समयमा गुराँस गाउँपालिकाका तिनजना बालिका गुराँस ४ घोडाबासबाट सुर्खेतका लागि गाडी चढे । गाडीको पछाडीको सिटमा बसेका उनीहरुले सुर्खेत झरेपछि बसपार्कमा एकजना भिनाजुलाई भेट्ने र काठमान्डौँ जाने योजना बनाई रहेका थिए ।

गुराँस गाउँपालिकाका १३ वर्षीय र १६ वर्षीय बालिकालाई आफ्नै गाउँकी १८ वर्षीय अर्की बालिकाले काठमान्डौं लगेर काममा लगाउने शर्तमा भगाएकी थिइन् ।

आज मंगलबार घरबाट भाग्ने तयारी उनीहरुले हिजो राती नै गरिसकेको रहेछन् । भगाउने मध्येकी बालिका अबेरसम्म घरमा रहेपनि भाग्ने मध्येका दुई बालिका भने राती नै घरबाट निस्किएको परिवार स्रोतले जानकारी दिएको छ ।

१३ वर्षीय बालिकाकी आमाले छोरी अबेर सम्म नउठेपछि काठमान्डौंबाट घर आएकी भगाउने मध्येकी बालिकासंग सोध्दा आँफुलाई जानकारी नभएको बताएको सुनाइन् । बिहानभरी खोज्दा पनि छोरी नभेटिएपछि गुराँस गाउँपालिकाको रानीमत्ता प्रहरी चौकीमा फोन गरेर छोरीहरु हराएको जानकारी आँफुले गराएको उनले बताईन् ।

करिब दुईबजेको समयमा प्रहरीले खोजतलास गर्दा तिनजना बालिका वीरेन्द्रनगर जाने गाडीमा भेटिए । सोधपुछका क्रममा बालिकाहरुलाई काममा लगाइदिन्छु भनेर आफ्नै गाउँकी अर्की बालिकाले नै लैजाँदै गरेको पाइएको रानीमत्ता प्रहरी चौकीले जानकारी दिएको छ ।

गुराँस गाउँपालिकाको न्यायिक समिति सचिवालय, सोसेक नेपाल तथा रानीमत्ता प्रहरी चौकीको सहायतामा बालिकाहरुलाई उद्धार गरि घटनामा जोडिएका थप एकजना पुरुषलाई समेत नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालय दैलेखमा थप अनुसन्धान र जाहेरीका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

‘बालिका ओसारपसारमा ठुलो गिरोह हुन सक्छ , गुराँस गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शिवाकुमारी खड्काले भनिन् “मानव बेचबिखन हाम्रो कार्यक्षेत्रभित्र नपरेपनि हाम्रो पालिकाका बालिकाहरु जोखिममा हुँदा हाम्रो पनि चासोको विषय बन्यो र छलफलमा बसीयो । छलफलका क्रममा बालिका ओसारपसारमा संलग्न बालिकालाई नै कुनै ठुलो गिरोहले प्रयोग गरेजस्तो लागेर जिल्ला प्रहरी कार्यालय दैलेखमा थप अनुसन्धानका लागि पठाइएको हो । ”

पीडित बालिकाहरु र उनका अभिभावकलाई सोसेक नेपालको बाल हेल्पलाइनमा राखिएको छ ।