काम सम्पन्न नहुँदै सुर्खेत सभाहलको उद्घाटन र हस्तान्तरण

सुर्खेत । कर्णाली प्रदेशकै ठूलो सुर्खेत सभाहलको बाँकी काम सम्पन्न नहुँदै उद्घाटन र हस्तान्तरण गरिएको छ ।

संघीय आयोजना कार्यान्व्यन इकाई सुर्खेतले सभाहलको पहिलो चरणको काम सम्पन्न भए पछि बिहीबार उद्घाटन गरेर वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीबार सभाहलको उद्घाटन गरेकी हुन् ।

सभाहलको उद्घाटन गर्दै मन्त्री झाँक्रीले सभा हलले यहाँको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सभाहलको पहिलो चरणको काम पहिलो चरणको काम २०७८ भदौ २३ गते सम्पन्न भएको हो । पहिलो चरणको काम सम्पन्न भएको चार महिनापछि सभाहल उद्घाटन गरेर वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सभाहलको २०७३ चैत २७ गते सम्झौता गरेर निर्माण काम सुरु भएको थियो । २०७६ चैत ३० गते सम्पन्न गर्ने भनिए पनि कोरोनाका र नयाँ संरचना थप गर्नुपर्ने भएका कारण प्रभावित भएको थियो ।सभा हल निर्माणको जिम्मा समानान्तर– चक्रेश्वरी – शिवसक्ति जे.भि काठमाण्डौँले लिएको थियो । सभाहलको २६ करोड ७० लाख नौ हजार ६९७ रुपैयाँ ६६ पैसामा पहिलो चरणको काम सम्पन्न भएको जनाइएको छ ।

आयोजना ईकाइ प्रमुख अमरबहादुर थापाले पहिलो चरणमा ७८० जना अट्ने क्षमताको सभाहल र ५० जनादेखि १५० जना अट्ने तीन वटा बैठक कक्ष निर्माण गरिएको जानकारी दिए । एक वटा मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ । सभाहल घेरबार, पार्किङ, खानेपानीलगायतको व्यवस्था गरिएको छ ।

उनका अनुसार सभामा सामाजिक, धार्मिक, आर्थिक एवंम राजनैतिक सेमिनार, गोष्ठी र सम्मेलनका लागि प्रयोग हुनेछ । सभाहलमा कुर्सी राख्ने, फिनिसिङ, बगैँचा बनाउनेलगायतका कामहरु बाँकी छन् । संघीय सरकारले दोस्रो चरणका लागि बजेटको टुंगो लगाएको छैन् ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले संघीय सरकारले अब छिटै दोस्रो चरणको कामका लागि बजेटको व्यवस्था गर्न र  बहुवर्षीय योजना स्वीकृत गर्न मन्त्रीलाई आग्रह गरे ।

उनले राजधानी वीरेन्द्रनगरको विकासका संघीय सरकारले योजना तथा बजेटको व्यवस्था गर्न समेत गरे । वीरेन्द्रनगरको खानेपानी, सहरी सौन्र्दयकरणका लागि संघीय सरकारले योजना तथा बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।