सवारी लाइसेन्स छपाइ पुनः शुरु

काठमाडौं । सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ ।

यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो ।

सरकारले २०७७ फागुनदेखि लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण रोकेको थियो ।

गत मंसिरको पहिलो हप्तामै फ्रान्सेली कम्पनीले १४ लाख कार्ड विभागलाई उपलब्ध गराएको थियो । आवश्यक परीक्षण गरेपछि कार्डमा लाइसेन्स छपाइ थालेको हो ।

अब माघ मसान्तसम्म छाप्न बाँकी सबै लाइसेन्सको छपाइ सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दावी गरे । करिव ४ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी रहेको उनले जानकारी दिए ।