विद्यार्थीहरूलाई अपाङ्गता बारे अभिमुखिकरण

सुर्खेत । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतले  विद्यार्थीहरूलाई अपाङ्गता, पहुँचयुक्तता र समता विषयमा सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरेको छ । ३० औं अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसको अवसरमा बिहीबार सुर्खेत बहुमुखी क्याम्पसका स्नात्तक तहमा अध्ययनरत  विद्यार्थीहरूलाई अभिमूखिकरण गरिएको हो ।

अभिमूखिकरण कार्यक्रममा सुर्खेत बहुमुखि क्याम्पस स्नातक तहका कार्यक्रम संयोजक शान्ता अधिकारीले अपाङ्गता भएका व्यक्तिहरू पनि अरू सरह काम गर्न सक्ने भएकोले उनीहरूलाई कमजोर दृष्टिले नहेर्न आग्रह गरिन् । अपाङ्गता भएकाहरूले पनि समाजमा सक्षम जीवन बाँच्न सक्ने उनको भनाई छ । अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि आफुहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अपाङ्गता भएका व्यक्तिहरूप्रतिको गलत धारणा हटाउने र अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक तथा समग्र पक्षहरू बारे बोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका सचिव चेतन सुनारको सभापतित्वमा भएको उक्त कार्यक्रम कोषाध्यक्ष सम्झना बडुवालले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमको सञ्चालन पहुँचयुक्त निर्वाचन प्रणाली परियोजनाका लागि सुर्खेत जिल्ला फिल्ड अफिसर बसन्त जैशीले गरेका थिए । कार्यक्रममा क्याम्पसका विभिन्न संकायबाट गरी ६० बढी विद्यार्थी र अन्य प्राध्यापक र संस्थाका पदाधिकारिहरूको उपस्थिति रहेको थियो ।

यस्तै नेत्रहिन युवा संघले बालबालिकालाई अपाङ्गता बारे अभिमुखिकरण गरेको छ । साउथ एशियन स्कलर्स एकेडेमिमा कक्षा ६, ७ र ८ मा अध्ययनरत बालबालिकाहरूलाई अपाङ्गता बारे अभिमुखिकरण गरिएको हो । कार्यक्रममा एक सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।