सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा आग्रह गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गरी तीन दलका नेताले प्रदेशसभामा अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री सोडारीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।
गत वैशाख ६ मा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर संघमा नयाँ सत्ता समीकरणसँगै एमालेले गत असार २३ गते मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपा र स्वतन्त्र एकरएक सदस्य छन् ।
फरकबाटो २९ असार २०८१, शनिबार २०:२२