अपाङ्गता भएका महिलाको सवालमा गम्भिर हुन आग्रह

सुर्खेत ।  अपाङ्गता भएका महिलाहरुको सवालमा गम्भिर हुन एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाले बिहीबार आयोजना गरेको अपाङ्गता भएका महिलाहरुको सवाल विषय अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको सवालमा गम्भिर हुन सरोकारवालाहरुलाई आग्रह गरेका हुन् ।

अपाङ्गता भएका महिलाहरुको संरक्षण र रेखदेखमा अभाव रहेको उनीहरुको भनाई छ । अपाङ्ग समाज सुर्खेतका सचिव रत्ना रानाले अपाङ्गता भएका महिलाहरुमा पोषणको  कमी, मानसिक समस्या, पूर्ण अपाङ्गता भएका महिलाहरुमाथि यौनजन्य हिंसा हुने गरेको बताइन् । अझै पनि अपाङ्गता भएका व्यक्तिहरु अपमानको जीवन बाँचिरहेको उनको भनाई छ । यसमा अझ महिलाहरुको अवस्था दहनिय रहेको उनले बताइन् । सरकारबाट अपाङ्गमैत्री संरचनाको अभाव र बजेट पर्याप्त नछुट्टाउने गरेको उनले उल्लेख गरिन् ।

भेरी बहिरा संघको अध्यक्ष नम्रता भारतीले अपाङ्गता भएका महिलाहरुको प्रजनन् स्वास्थ्य समस्या रहेको बताइन् । उनले भनिन्, ‘महिनावारी हुँदा घरबाट टाढा बस्नुपर्ने बाध्यता छ । अझ अभिभावकहरुले  नबुझ्दा झन समस्या हुन्छ । ’ जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाई छ । कोभिडले अपाङ्गता भएका महिला र बालबालिकाहरु अझ समस्यामा परेको उनले बताइन् ।

कार्यक्रममा आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले अपाङ्गता भएका महिलाको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थाको पहिचान गरेर सोही अनुसार शसक्तिकरणका योजनाहरु बनाउन आवश्यक रहेको बताइन । उनले अपाङ्गता मैत्री नीति, बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिइन ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले नगरपालिकामा अपाङ्गता भएका सवालको अधिकारहरु बिस्तारै सुनिश्चित गर्दै लिएको बताइन् । उनले नगरपालिका भित्र हुने हरेक संरचनामा अपाङ्ग मैत्री संरचना निर्माणमा जोड दिएको जानकारी दिइन् ।  उनले भनिन्, ‘ अपाङ्ग मैत्री घर गराउने भए पछि मात्रै नक्सा पास गर्ने नीति लिएका छौँ । कर छुटको नीति लिएका छौँ । विभिन्न विद्यालयमा अध्ययरत अपाङ्गता भएका छात्राहरुलाई शैक्षिक समाग्री सहयोग गरेका छौँ ।’ उनले  अपाङ्गता भएका सवालमा सबैले एउटै आवाज लिएर अघि बढ्नुपर्ने बताइन् ।