भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा : २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाउँदै

सुर्खेत । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइँदैछ ।

विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन् । युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले जानकारी दिए ।

नवौँ पटक जिब्रो छेडेका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएका हुन् । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । तर यसवर्ष बुद्धकृष्णका कान्छा छोराले पहिलो पटक जिब्रो छेड्दै छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाइ व्रत बस्नुपर्ने नियम छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दुर जात्रा मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजाको तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।