नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटक काठमाण्डौमा


सुर्खेत । नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटकहरु काठमाण्डौमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार आज १ सय ८१ जनाको चिनियाँ पर्यटकको समूह विमान चार्टर्ड गरेर काठमाण्डौ आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका छन् ।

हिमालय एअरलाइन्सको विमान चार्टर्ड गरेर १ सय ८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । मन्त्री सुदन किरातीले सञ्चारकर्मीहरुसँग नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए । उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनुले नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १ सय ८१ जना नागरिकको चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए ।

त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एअरलाइन्सको विमान चार्टर्ड उडानमार्फत् लगातार आउने तालिका रहेको बताए । उनले अप्रिल १९ तारिखमा अर्को उडानमार्फत् आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताए । उनले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाइमा ३ दिन ट्रेकिङमा जाने र ४ दिन काठमाण्डौ पोखरा घुम्ने बताए ।

कोरोना महामारीपछि चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य देशमा परेपश्चात चार्टर्ड उडानमार्फत् नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत् आएका हुन् ।