तिब्बती शरणार्थी नेपाली नागरिकतासहित पक्राउ


सुर्खेत । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रूपमा काठमाण्डौको बौद्ध तुसाल क्याम्पमा बसोवास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती शरणार्थी तिब्बतबाट भारतको बिहार, दिल्ली हुँदै आई विगत दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोवास गर्ने गरेको तथा तिनले क्याम्पमा बसोवास गर्ने व्यक्तिमार्फत कृष्णबहादुर कटुवाललाई नेपाली नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ । यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिएबापत पाँच लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाण्डौका विभिन्न ठाउँमा बसोवास गर्ने तिब्बती शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ । साथै नक्कली बुवा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

नेपाली नागरिकता प्रमाणपत्रसहित पक्राउ परेकी गुरुङलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।