फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई ‘बुस्टर’ डाेज

काठमाण्डौ । सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने बताएका हुन् ।

२०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खोप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले फागुन १ गतेदेखि दोस्रो डोज खोप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताए ।

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको जानकारी दिए । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा अहिले सबै गर्भवती महिलालाई ९पहिलो त्रैमासिकपछि० खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो । उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए ।

ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक ठाउँमा खोप केन्द्र निर्धारण गरेर दैनिक रूपमा खोप प्रदान भइरहेको तथा दैनिक आवतजावत गर्ने ठाउँहरू जस्तैः– बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रवेश नाकाहरूमा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको उनले बताए ।

अहिलेसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० डोज खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६ सय एक डोज खोप लगाइसकिएको मन्त्री खतिवडाले उल्लेख गरे ।

यस्तै कोभिड–१९ स्वाब परीक्षणको मूल्य निजी अस्पतालका प्रयोगशालामा दुई हजार रुपैयाँबाट घटाइ एक हजार पाँच सय रुपैयाँ तथा सरकारी स्वास्थ्य संस्थामा एक हजार रुपैयाँबाट घटाइ आठ सय रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवामार्फत परामर्श सेवा प्रदान गर्न सुरु भएको, भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुहरूमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९० प्रतिशतको स्क्रिनिङ भइरहेको तथा स्क्रिनिङ भएकामध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको जानकारी दिइएको छ । त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाइएको छ ।